लय संग्रौलाको टेलिफिल्म 'क्याटमाण्डू' बाट कलाकार बनेका सुमनले हालसम्म थुप्रै फिल्ममा अभिनय गरिसके तर पनि उनलाई सफल हिरोको रूपमा मिडियाले लिएन । सुमन दु:ख व्यक्त गर्दै भन्छन्, 'म कम बोल्ने भएकाले मिडियामा खासै नआएको हो तर मलाई दर्शकले हरपल माया गर्नु भएको छ र मेरो फिल्मलाई मन पराईदिनु भएको छ त्यसैले म आफूलाई असफल भनेर भन्दिन ।' दर्शकको माया नपाएको भए आफू पहिल्यै पलायन हुनसक्ने सुमनको भनाई छ ।
जो चल्दैन उसले काम पनि पाउँदैन भन्ने मान्यता राखेका सुमनले आफू चलिरहेकाले व्यस्त पनि भएको बताए । उनले भने, 'मैले काम पाईरहेको छु त्यसैले म चलिरहेको छु । मात्र यति हो कि म मिडियामा कम आउँछु ।' मिडियामा कम आउनुको कारण खोल्दै सुमनले भने, 'अभिनय नै नजान्ने मान्छेलाई लय दाईले कन्फिडेन्टका साथ ल्याउनु भयो । त्यसपछि दिनप्रतिदिन काम पाउँदै गएँ तर मिडिया सामु बोल्न डराउँथें । कतै मैले बोल्दा नराम्रो हुन्छ कि भनेर सकेसम्म नबोली बस्थें सायद त्यहि भएर होला म मिडियासामु नचल्ने हिरो भएको ।'
कुनैबेला राजेश हमाल, शिब श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, बिराज भट्ट लगायतका सिनियर कलाकारको व्यस्तता र क्रेज देखेर लोभिने सुमन अहिले आफू व्यस्त हुनु र दर्शकको माया पाउनुलाई आफ्नो काम प्रतिको लगाव, मेहनत र अग्रजहरूले देखाएको बाटोमा लाग्नु रहेको बताउँछन् । राजेन्द्र खड्गीले रणसंग्राममा मुख्य भुमिका दिएपछि अहिलेसम्म पछाडी फर्केर हेर्न नपरेकोले राजेन्द्र प्रति आभार व्यक्त गर्दै सुमनले भने, 'बेला बेला आफ्नै नजिकका साथीहरूले धोका दिंदा भने सार्है दु:ख लाग्छ ।' उनी थप्छन्, 'मैले कहिल्लै अर्काको भाग खोस्न जानिन तर अरूले भने मेरो भाग खोस्दा दु:ख लाग्छ ।'
नेपाली फिल्मलाई बिश्व बजारमा पुर्याउनुपर्छ भन्ने मान्यता राख्दै सुमन अहिले आफू पनि सो मार्केट खोज्न लागि परेका छन् । उनी भन्छन्, 'मैले जानेको बुझेको यहि क्षेत्र हो त्यसैले यो क्षेत्रको विकासका लागि ग्लोबल मार्केटको खोजीका लागि म आफै पनो पहल गर्दैछु ।' आफ्नै पहलमा दुबईमा थुप्रै नेपाली फिल्म रिलिजको क्रममा रहेको बताउँदै सुमनले उक्त कार्यलाई निरन्तरता दिने बताए । सुमनले अभिनय गरेका ॐ, ब्ल्याक मेल र रंग जस्ता आशलाग्दा फिल्म यहि भाद्र महिनामा रिलिज हुँदैछन् ।
Post a Comment